नियम ३९
समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मत गणना
(१) नियम ३६ बमोजिम मतपेटिका जाँच गरेको मुचुल्का गरी सकेपछि समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने  निर्वाचनमा प्रयोग गरिएको मतपेटिकामा लगाएको सुरक्षण सिल तोडी मतपेटिकामा रहेका सबै मतपत्र गणना गर्ने स्थानमा खन्याउनु पर्नेछ । (२) उपनियम (१) बमोजिम मतपत्र खन्याउँदा एकभन्दा बढी मतदान केन्द्रको मतपत्रहरू एकै स्थानमा मिसाई मतगणना गर्नु पर्नेछ । त्यसरी मतपत्र मिसाउनु अघि त्यस्ता मतदान केन्द्रमा खसेको कुल मतको विवरण छुट्टै लेखी सुरक्षित राख्नु पर्नेछ । (३) यस नियम बमोजिम मतगणना गर्नुअघि बदर मतपत्र अलग छुट्याई सदर भएका मतपत्र दलको निर्वाचन चिन्ह अनुसार अलग–अलग छुट्याई ठेली बनाई त्यस्ता मतदान केन्द्रमा खसेको मतपत्रको कुल सङ्ख्या उल्लेख गरी मुचुल्का बनाउनु पर्नेछ । (४) निर्वाचन अधिकृत वा निजले खटाएको कर्मचारीले मतगणना गर्दा सदर वा बदर मतपत्र निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाउनु पर्नेछ । तर सो मतपत्र निजलाई छुन वा समाउन दिनु हुदैन । (५) उपनियम (३) बमोजिम छुट्टयाइएका मतपत्रमध्ये सबैभन्दा पहिले बदर मतपत्र र त्यसपछि सदर मतपत्रको गणना गर्नु पर्नेछ । (६) सम्बन्धित निर्वाचन क्षेत्रको सबै मतदान केन्द्रको मतगणनाको कार्य सम्पन्न भईसकेपछि निर्वाचन अधिकृतले मतगणनाको तालिका तयार गरी प्रकाशन गर्नु पर्नेछ । यसरी तालिका तयार गरेपछि सोको मुचुल्का गराई राख्नु पर्नेछ । (७) निर्वाचन अधिकृतले उपनियम (६) बमोजिमको मतगणना तालिकाको एक प्रति नियम १३ बमोजिमको निर्वाचन अधिकृतको कार्यालयमा तुरुन्त पठाउनु पर्नेछ । (८) निर्वाचन अधिकृतले गणना गरी सकेका मतपत्रमध्ये सदर र बदर मतपत्र  छुट्टाछुट्टै खाम वा थैलोमा सिलबन्द गरी राख्नु पर्नेछ । यसरी सिलबन्द गर्दा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले समेत सहीछाप गर्न चाहेमा निजको समेत सहीछाप गर्न दिनु पर्नेछ । (९) मतगणनाको कार्य सम्पन्न भएपछि निर्वाचन अधिकृतले मतगणना समाप्त भएको मुचुल्का गर्नु पर्नेछ र सो मुचुल्कामा आफुले सहीछाप गरी मतगणना स्थलमा उपस्थित निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको समेत सहीछाप गराउनु पर्नेछ । (१०) यस नियम बमोजिम तयार गरिएको मुचुल्का वा मतगणना तालिकामा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले सहीछाप नगरेमा सोही व्यहोरा जनाई मतगणना स्थलमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ।